काठमाडौँ, १७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई ५० प्रतिशत सिट लिन प्रस्ताव गरेका छन् ।
बिहीबारको गठबन्धनको बैठकमा प्रचण्डले १६५ सिटमध्ये ५० प्रतिशत सिट आफू राखेर बाँकी सिट गठबन्धनका अन्य दललाई दिन कांग्रेसलाई आग्रह गरेका हुन् । प्रचण्डको प्रस्ताव अनुसार गए कांग्रेसले ८२ देखि ८३ सिट मात्र पाउने छ ।
बैठकमा सहभागी ती नेताले भने, ‘प्रचण्डले प्रस्ताव त राख्नुभयो। तर न त कांग्रेस ८०-८२ सिटमा चित्त बुझाउँछ न त अरू दल मान्छन् । ५० सिट आफू राख्ने नियत उहाँको देखियो ।’
बैठकमै कांग्रेस नेता रामचन्द्र पौडेलले आफूहरू ९० सिटभन्दा तल झर्न नसक्ने अडान राखेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा भने ८६ सिटमा राजी भएको कांग्रेस स्रोतको दाबी छ ।
ती नेताकाअनुसार देउवा कांग्रेसले कम सिट लिएर भएपनि लोकतान्त्रिक समाजवादी लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि गठबन्धनमा ल्याउने रणनीतिमा छन् ।नेताहरूले आ-आफ्नो अडान नछाडेपछि झण्डै ११ घण्टा बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।







