Logo

‘कांग्रेसले गरेका कामको प्रचार हुन सकेन’



तनहुँ, ४ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका-११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको उल्लेख गरेका छन् ।

“यति धेरै भौतिक संरचना बनेका छन्, तनहुँवासीको आर्थिक उन्नति, रोजगारी सिर्जना भएको छ, तर कांग्रेसले गरेको हो भनेर प्रचार गर्न सकेनौँ”, पौडेलले भने । वरिष्ठ नेता पौडेलले कांग्रेसकै कारण जिल्लामा उल्लेख्य विकास भएको दाबी गरेका छन् ।

विसं २०४७ सम्म पृथ्वीराजमार्गबाहेक बाटोको पहुँच नभएको जिल्लामा कांग्रेसकै कारण बाटोघाटोमा ठूलो विकास भएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भने, “शिक्षा, स्वास्थ्य, खानेपानीलगायतमा पनि हाम्रो ठूलो लगानी छ ।”

वरिष्ठ नेता पौडेलले गत निर्वाचनबाट केपी शर्मा ओलीको सरकारलाई देश बनाउनका लागि पाँच वर्षको म्याण्डेट दिइए पनि आपसी द्वन्द्वका कारण सरकार परिवर्तन भएको उल्लेख गरेका छन् । “देशको विकास होस् भन्ने हाम्रो पनि चाहना थियो, तर उहाँहरूकै झगडाका कारण कांग्रेस नेतृत्वमा सरकार बनेको छ” ।

प्रतिक्रिया दिनुहोस्