काठमाडौँ, २३ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गरेका छन् ।
प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने कांग्रेसले राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरु केही पनि नहुने उनको भनाइ छ ।
रफ्त सञ्चार क्लबको १३ औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणापत्रभन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दलहरुलाई नरहेको पनि बताए । सत्तारुढ गठबन्धन प्रजातान्त्रिक नभएको भन्दै अध्यक्ष बिजुक्छेले असन्तुष्टिसमेत व्यक्त गरेका थिए ।
‘यो राष्ट्रपतिको लोभले गर्दा सायद नेपाली कांग्रेसले त्यो बाटो अपनाएको हो कि? साँचो यही हो भने त्यो जस्तो नराम्रो राजनीतिक दृष्टिकोण अरु छैन । पदको निम्ति होइन, सिद्धान्तको निम्ति हो, नीतिको निम्ति हो,” उनले भने, “र, कार्यक्रम घोषणापत्र हामीले निर्वाचनको बेलामा पाउँछौ नि, त्योभन्दा तलमाथि जाने गर्नु हुँदैन । जनताले भोट दिएको व्यक्तिलाई साँचो मानेमा त्यो घोषणापत्रलाई नै मत दिएको हुनाले त्योभन्दा तलमाथि हामीले गर्न मिल्दैन ।”
अध्यक्ष बिजुक्छेले चुनावअघि र पछि पनि साझा घोषणापत्रअनुसार अघि बढ्न नसक्ने गरी गरिएको राजनीतिक गठबन्धनको कुनै अर्थ नहुने दाबी गरेका छन् ।







