
काठमाडौँ, २ साउन । नेपाली कांग्रेसले आउँदो सङ्घीय र प्रदेश सभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको सोमवार सम्पन्न बैठकले आउँदो सङ्घीय र प्रदेश सभा चुनाव पनि तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो ।
पार्टीलाई चुनावमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै नागरिकको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, देशको आर्थिक-सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा गठबन्धन दलहरूबीच तय गर्दै नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने गरी स्पष्ट खाकासहितको कार्यक्रम पनि आमचुनावमा प्रस्तुत गर्नुपर्ने निष्कर्ष कांग्रेसले निकालेको छ ।







