काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा आज भएको घट्नाको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष जवाफ माग्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमाले र कांग्रेस सांसदहरुबीच धकेलाधकेल भएपछि बैठक स्थगित् भएको छ । सोलगत्तै आयोजित संसद् भवनस्थित् ल्होत्से हलको पत्रकार सम्मेलनमा कांग्रेसका महामन्त्री गगन थापाले भन्नुभयो, ‘सत्तापक्षले आँफै मुठभेड गर्न चाहेको छ । आजको घट्नाको विषयमा प्रधानमन्त्रीज्यूसँग जवाफ चाहन्छौं । माग्छौं ।’
थापाले सभामुख देवराज घिमिरेको भूमिकाको पनि आलोचना गर्नुभयो । उहाले भन्नुभयो,‘ सभामखुको भूमिका एउटा पार्टीको आदेशपालकको रुपमा भयो । उहाँको भूमिका जिम्मेवारीपूर्वक भएन भन्ने हाम्रो निश्कर्ष छ । सत्ता पक्षले पनि संसदलाई मुठभेडतर्फ लैजाने स्थिति सिर्जना गर्यो । हामी आज बिहानदेखि नै सम्वाद तथा छलफलमा थियौं । प्रधानमन्त्रीज्यूलाई टेलिफोन गरेर आजको सदन स्थगित् गर्नुहोस भनेको थियौं । हामीले त समझदारी चाहेका थियौं। हाम्रो प्रस्ताव बैठक सार्ने थियो ।’
उहाले एमालेले सभामुखलाई जसरी पनि सदन चलाउन निर्देशित गर्ने काम गरेको आरोप लगाउनुभयो ।







