काठमाडौँ, १८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संदीय समिति बनाउनैपर्ने अडान दोहोर्याएको छ ।
आइतबारको प्रतिनिधिसभा को सुरुवातमै कांग्रेस सांसद संजयकुमार गौतमले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने आफूहरूको अडान कायमै रहेको स्पष्ट पारेका हुन् ।
कांग्रेसले बारम्बार प्रश्न उठाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रहरी प्रमुखले जवाफ दिएपनि त्यसले थप संशय पैदा भएको सांसद गौतमको भनाइ छ ।
सांसद गौतमले कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर नभई बचतकर्ता पीडितहरूले न्याय पाउन् भनेर यो विषय गम्भीरताका साथ उठाएको बताए । उनले यो प्रश्न कानूनी मात्र नभई नैतिकताको पनि भएकाले गृहमन्त्री स्वंयमले पनि गम्भीर रुपमा लिनुपर्ने बताएका छन् ।
कांग्रेस गृहमन्त्री लामिछानेविरुद्ध छानबिन समिति नबनाइए आजदेखि सदन अवरोध गर्ने जनाएको थियो । तर उसले सदन अवरोध नगरेपनि आफूहरूको अडान कायमै रहेको दोहोर्याएको हो ।