काठमाडौँ, २८ चैत । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन् ।
सङ्घ, प्रदेश र पालिका पाँच वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले बताए ।
मङ्गलवार काठमाडौँमा आयोजित नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्वराजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरेका थिए ।
उनले पाँच वर्षपछि नेपाली कांग्रेसले नागरिकको माझमा जाँदा यो-यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताए ।
उनले भने, ‘पाँच वर्षको अवधि छ । मैले भनिरहेको छु- म नेपाली कांग्रेसको एउटा कार्यकर्ता हुँ । सङ्घमा कांग्रेसको सरकार, प्रदेशमा कांग्रेसको सरकार, चार सयभन्दा बढी ठाउँमा गठबन्धन सरकार छ । अब कसैलाई दोष दिएर उम्किन पाइँदैन । अब भूतप्रेतलाई भनेर पनि पाइन्न । भूतपूर्व राजालाई भनेर पनि पाइन्न । अब नेकपा एमालेले गरेन, अरूले गरेन भन्न पनि पाइन्न । गर्ने जिम्मा लिएर आएपछि अब हामीले गर्नुपर्छ । परिणाम दिनुपर्छ, रिजल्ट चाहिन्छ ।’







