Logo

नेपाली कांग्रेस अहंकारको बाटोमा छँदै छैन: प्रवक्ता डा. महत



चितवन , २० जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् ।शुक्रबार नेपाल प्रेस युनियन चितवनद्वारा आयोजित पत्रकार सम्मेलनमा कुराकानी गर्दै महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने बताएका हुन् ।

‘कांग्रेसले अहंकार कहिल्यै नराखेको भन्दै उहाँले गठबन्धन दलका नेताहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व नराख्ने बताए । उनले भने, “नेपाली कांग्रेस अहंकारको बाटोमा छँदै छैन, दाहालले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भन्नुभयो होला, त्यसलाई धेरै महत्व दिनुपर्छ भन्ने लाग्दैन ।”

प्रवक्ता महतले स्थानीय तहमा भएको अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताए । स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको भन्दै उनले गठबन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न नेता कार्यकर्तालाई आग्रह गरे ।

आउने जिल्ला समन्वय समितिको निर्वाचनमा समेत गठबन्धनका दलबीच सहमति भएको भन्दै उनले सोही निर्णयानुसार प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । उनले भने, “गठबन्धनका नेताबीचमा भएका सहमति प्रतिबद्ध भएर पालना गरौँ ।”

प्रतिक्रिया दिनुहोस्