काठमाडौं, २ माघ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि पार्टीभित्रको विवाद थप चर्किएको छ। देउवा पक्षका नेता पूर्णबहादुर खड्काले आयोगको निर्णयलाई अस्वीकार गर्दै त्यसविरुद्ध कानुनी र राजनीतिक दुवै मोर्चाबाट लडाइँ गर्ने घोषणा गरेका छन्।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले आयोगको निर्णय प्रक्रियामै गम्भीर त्रुटि रहेको आरोप लगाए। उनका अनुसार एक पक्षको दाबीका आधारमा मात्रै निर्णय गरिएको छ, जुन प्रक्रियागत रूपमा गलत र पूर्वनियोजित देखिन्छ।
“हामी वैधानिक कानुनी लडाइँ सबै लड्छौं। यो निर्णय धेरै समयअघिदेखि सेटिङ भएको भन्ने कुरा बाहिर आइरहेका थिए। हामी ती सबै कुरा चिर्दै आएका छौं,” खड्काले भने।
उनले आयोगले कानुनी रूपमा निर्वाचित समितिलाई बोलाएर छलफल नगरी सीधै निर्णय सुनाएकोप्रति असन्तुष्टि व्यक्त गरे।
निर्वाचन आयोगले शुक्रबार साँझ विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएको घोषणा गरेको थियो। यस निर्णयसँगै कांग्रेसभित्र नेतृत्वको वैधताबारे बहस अझ तीव्र बनेको छ।







