Logo

कांग्रेस एकजुट हुनुको विकल्प छैन: डा.कोइराला



रामेछाप, २४ भदौ । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले देश निर्माणमा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्नुको कुुनै विकल्प नरहेको बताएका छन् ।

कांग्रेस रामेछापले मन्थलीले एक सय १० औँ बिपी जन्मजयन्तीको अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले गुटकै कारण पार्टी कमजोर भएको स्वीकार्दै कांग्रेस पाटी बिना गुट र बिना साहारा एक्लै लड्न तयार रहनुपर्ने बताएका हुन् ।

उनले भने, “परिवर्तनका लागि लामो इतिहास बोकेको कांग्रेस विचारकै कारण उत्कृष्ट पार्टी रहेको र यसको कार्यान्वयनमा सबै नेता कार्यकर्ता इमान्दार हुनुपर्दछ । म अठोटका साथ भन्छु, कांग्रेसले एकजुट भएर आफ्नो विचारका आधारमा अगाडि बढेमा कुनै पनि शक्तिले कहिलै पनि हराउन सक्दैन ।’’

अहिले कांग्रेसको केन्द्रदेखि जिल्ला तहसम्म गुट र उपगुट रहेको बताउँदै नेता कोइरालाले त्यसलाई अधिवेशनमा मात्रै उपयोग गर्नुपर्ने र पार्टीको अधिवेशन सकिएपछि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

अर्को प्रसङ्गमा नेता कोइरालाले कार्यकर्ताले आवश्यकता महसुस गरे आफूले आगामी महाधिवेशनमा सभापति पदमा उमेदवारी दिने सङ्केत पनि दिए । दशैँ लगतै आफू कार्यकर्ताको चाहना बुझ्न देश दौडाहामा जाने र सो क्रममा कार्यकर्ताले गरेको मूल्याङ्कनका आधारमा १५औँ महाधिवेशनमा सभापति पदमा उमेदवारी दिन चाहेको पनि उनले स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्