काठमाडौँ, २० असोज । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस एकढिक्का भएर आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस गोरखा सहिदलखन-काठमाडौँ सम्पर्क समितिले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले कांग्रेस एकढिक्का भएर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् ।
“हामीले जनताका लागि सकारात्मक काम गर्दै गाउँमा आफ्ना साथीलाई पनि सम्झाउन सक्यौँ भने कसैले कांग्रेसलाई हराउन सक्दैन, हामी एकढिक्का हुन जरुरी छ”, उनले भने । नेता डा कोइरालाले अहिले देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै सरकारले समय, परिस्थिति अनुसार जनताका पक्षमा काम गर्न आवश्यक रहेको बताए । वर्तमान परिस्थितिलाई कांग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने उनको भनाइ थियो ।






