
बागलुङ, १७ कात्तिक । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताएका छन्
नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गरेका हुन् ।
सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने धारणा राखे । “नेपालको संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वभाविक मानेका छौँ”, सभापति देउवाले भने, “वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शङ्का गर्न पर्दैन । नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छौँ ।”
देउवाले नेपाली कांग्रेस पुन: सङ्गठित र थप मजुबद हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद् पक्ष रहेको बताए । नेपाली कांग्रेसले वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुद हुने बताउँदै जिल्ला सम्मेलन आयोजना गर्ने बागलुङ कांग्रेसलाई धन्यवाद दिए । उनले पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गरेका थिए ।
नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउँदै राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने बताए ।







