Logo

कांग्रेस-एमाले बहुदल मासेर दुई दल राख्ने षडयन्त्र गर्दै छन्: लिङ्देन

अध्यादेशबाट शासन चलाउने सरकारी रवैयाको निन्दा



काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्को पहिलो र दोश्रो दल मिलेर सरकार बनाउने परिकल्पना संसदीय व्यवस्थामा नहुने बताउनुभएको छ । तर नेपालमा अहिले नेपाली कांग्रेस र नेकपा एमालेले अनौठो अभ्यास गरिरहेको उहाले बताउनु भयो ।

धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्दै लिङ्देनले यस्तो बताउनुभएको हो।

उहाले कांग्रेस र एमाले बहुदलीय व्यवस्था मासेर दुईदलीय व्यवस्था कायम गर्ने षडयन्त्रमा लागेको आरोपसमेत लगाउनुभयो ।

अध्यक्ष लिङ्देनले हिउँदे अधिवेशन छलेर अध्यादेशबाट शासन चलाउने सरकारको रवैयाको पनि प्रतिवेदनमा निन्दा गर्नुभएको छ ।

वैदेशिक सम्बन्धमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्यूहमा फस्न सक्ने खतरा रहेको पनि उहाले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।अध्यक्ष लिङ्देनले पार्टी संगठन दुई प्रयोजनका लागि विस्तार गर्दै जानुपर्ने बताउनुभएको छ । आन्दोलनका लागि संगठन र चुनावका लागि संगठन भनेर पार्टि निर्माणबारे उनले प्रतिवेदनमा ब्याख्या गर्नुभएको छ ।

उहाले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, सहकार्य वा मोर्चा बनाउने विषयमा केन्द्रीय समिति बैठकका सहभागीसँग सुझाव माग्नुभएको छ ।

बैठकमा महामन्त्री एवम् सचिवालय प्रमुख राजेन्द्र गुरुङ्ले सचिवालयको प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेस गर्नुभयो ।

बैठक शनिबार सम्पन्न गर्ने कार्यसूची रहेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्