Logo

कांग्रेस, एमाले र माओवादीबाट देशको परिवर्तन सम्भव छैन: लिङ्देन



काभ्रे, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबाट देशको परिर्वतन सम्भव नभएको बताएका छन् ।

बिहीबार काभ्रेको धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले यी राजनीतिक दलबाट परिर्वतन सम्भव नदेखिएकाले नै परिर्वतनका पक्षधर स्वतन्त्र उम्मेदवार बालेन साहहरुले चुनाव जितेको दाबी गरेका छन् ।

अध्यक्ष लिंग्देनले भने, ‘अब कांग्रेस, एमाले, माओवादीबाट परिर्वतन सम्भव छैन भन्ने कुरा विजयी स्वतन्त्र उम्मेदवारहरूले सावित गरे ।’

त्यस्तै लिङ्देनले स्थानीय तहको निर्वाचनमा गरेको सफलताले राप्रपालाई उत्साहित बनाएको बताएका छन् ।

‘दुई-दुईवटा गठबन्धनका बावजुद राप्रपाले एक्लै निर्वाचनमा सहभागी भएर प्राप्त गरेको सफलताले पार्टीलाई उत्साहित तुल्याएको छ,’ उनले भने, ‘पार्टीको महाधिवेशन लगत्तै निर्वाचन भएकोले तयारी समयको अभावले गर्दा अपेक्षित परिणाम भने ल्याउन सकिएन ।’

अध्यक्ष लिङ्देनले जेष्ठ १८ र १९ गते धुलिखेलमा सम्पन्न पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले स्थानीय तह निर्वाचनमा दुई-दुई वटा गठबन्धनका बावजुद समय अभावको कारण अपेक्षित परिणाम प्राप्त हुन नसके पनि पार्टीको लोकप्रिय जनमतमा भने उल्लेख्य सुधार भएको निष्कर्ष निकालेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्