काठमाडौँ, ३ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ ।
बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट जलेको अनुहारको छाला राम्रो हुँदै गएको हो । भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए ।
“डा भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ”, डा भण्डारीका दाजु मीनप्रसादले भने । स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएकाले तत्काल शल्यक्रिया गर्न आवश्यक नभएको डाक्टरले बताएको उनले बताए ।







