काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा सांसद भण्डारीको उपचार जारी छ ।
उपचारको ३६औँ बिहीबार दिन सांसद भण्डारी ‘सपोर्ट’ लिएर तीन मिनेटभन्दा बढी हिँडेको मुम्बईमा रहेका उनका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए ।
उपचाररत सांसद भण्डारी बेडबाट बिनासहयोग उठेको र सहयोग लिएर कुर्सीमा बसेको तथा हिँडेका दाजु मीनप्रसादले जनाकारी दिए । अनुहारको छालामा राम्रो सुधार भइरहेको र शल्यक्रियाको आवश्यकता नदेखिएको पनि उनले बताए ।
उपचारमा खटिएका चिकित्सक सुनील एम कास्वानीका अनुसार कलमी गरिएको छालाले राम्रो काम गरिरहेको र विस्तृतमा अबको एकसातामा थाहा हुने जानकारी पाएको पनि मीनप्रसादले बताए ।
अहिले सांसद भण्डारीलाई साधारण डाइट दिइएको र उनी राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेका पनि मीनप्रसादले बताए ।
संक्रमण फैलन सक्ने कारणले अस्पताल प्रशासनले सांसद भण्डारीसित शुभेच्छुकलाई भेटघाटमा प्रतिबन्ध लगाएको छ । उनका अनुसार सांसद भण्डारीलाई उक्त अस्पतालमा भर्ना गरिएको आज ३६औँ दिन हो ।
गएको फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित घरमा खाना पकाउने एलपी ग्यास ‘लिक’ भएर आगलागी भएको थियो । आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए ।
हरिकलाको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो । भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो ।