Logo

कांग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा: रिमाल



काठमाडौँ, ३ माघ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाएका छन् ।

उनले सभामुख पदमा एमालेले उम्मेदवारी दिने उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल आफैैँले कांग्रेससहितका अन्य दलहरूसँग पनि सभामुखका लागि मत माग्नुपर्ने बताएका हुन् ।

उपमहासचिव रिमालले सभामुख/उपसभामुख र राष्ट्रपति/उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लविङमा कांग्रेस नेताहरू सक्रिय भइरहेको भन्दै नेपाली कांग्रेस राजनीति गिजोल्ने विधिबाट अघि बढिरहेको बताए ।

उनले सत्तारूढ दलको तर्फबाट सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी दिने र विजयी हुने सुनिश्चित रहेको दाबी समेत गरे । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ दलमा आवद्ध भएकाले अन्य दलसँग पनि सभामुखलाई निर्वाचित गराउन मत माग्नुपर्ने बताए ।

‘नेपाली कांग्रेसले प्रधानमन्त्रीको पक्षमा विश्वासको मत हाल्दाखेरी उसको चाहीँ अदृश्य स्वार्थ छ भन्ने अन्दाज हुन्थ्यो । राजनीतिलाई गिजोल्ने विधिबाट नेपाली कांग्रेस जुन ढंगले अहिले अगाडि बढ्न खोजेको देखिन्छ, यो दुर्भाग्यपूर्ण हो । कांग्रेसको भित्री मनमा चाहिँ मुलत: राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा केही परिणाम ल्याउन सकिन्छ कि भन्ने आशय होकि भन्ने अन्दाज गर्न सकिन्छ,’ उनले भने ।

उपमहासचिव रिमालले नयाँ सत्ता समिकरणमा संशय पैदा गर्न र कर्मचारीतन्त्रलाई दुविधामा पार्न कांग्रेस अग्रसर भइरहेको उल्लेख गर्दै त्यस्ता खालको भ्रममा नपर्न पनि आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्