काठमाडौँ, १६ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेकाे बताएका छन् ।
नेपाली कांग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताएका हुन् ।
एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ सङ्कटमा पर्न गएको बताउँदै उनले आफूले व्यक्तिको नभइ पार्टीनै बदल्ने कुरा गरेको बताए । थापाले प्रजातन्त्रमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबी समेत गरेका थिए ।
दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्नु उचित भएकाे उनकाे भनाइ छ । महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले भने, ‘ कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ । बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ । तर कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ । म बदलिन तयार छु । मैले पटकपटक भनेको छु-दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ । त्यसैले बदलिनका लागि म तयार छु । सबै तयार हुनुपर्छ । ’







