काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विश्वेश्वर (बीपी) कोइरालामाथि अन्याय भइरहेको टिप्पणी गरेका छन् ।
आजको समस्या समाधान गर्न पनि बीपी कोइरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बीपीमाथि नै कांग्रेसले अन्याय गर्नु रहेको उनको तर्क थियो ।
मङ्गलवारदेखि काठमाडौँमा सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीहरूले काम नपाउने चुनौती आज रहेको र त्यसको समाधान बीपी कोइरालाको भनाइलाई खोजेर गर्न नसकिने स्पष्ट पारे । उनले हाम्रो भागको समस्याको समाधान हामी आफैँले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरूलाई सचेत गराएका थिए ।
महामन्त्री थापाले भने, ‘रोजगारी सिर्जना हुन्छ तर नेपालीले त्यसमा काम पाउँदैनन् । आज के, कति कारणले नेपाली कामदारहरू काम लागिरहेका छैनन्? सानो गार्मेन्ट खोल्ने मान्छेलाई हामीले कुरा गर्न गयो भने के, कति कारणले गर्दा होला उसले पनि नियतवश नेपालीलाई कामै दिन्न भनेको त होइन होला । तर के, कति कारणले नेपाली कामदारहरू काम लागिरहेका छैनन्? आजको चुनौती यस्तो आएको छ । यस्तो बेलामा पनि हामीले पुरानो बीपी कोइरालाले यसको बारेमा केही बोलिदिनुभएको थियो कि, भनिदिनुभएको थियो कि भनेर त्यहाँ खोज्न जानु भनेको त बीपीमाथि अन्याय गर्नु हो नि त । त्यो भन्नुभएको रहेनछ भन्नु भनेको त अन्याय गर्नु हो नि । हाम्रो भागको समस्याको समाधान पनि उहाँले गर्नुपर्ने कि हामीले गर्नुपर्ने ?’







