काठमाडौं, १८ पुष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पार्टीको कार्यसम्पादन समितिमा बहुमतकाे आधारमा पारित भएको बताएका छन्। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले प्रस्तावबारे आफूहरू केही नेताहरूले फरक मत राखेपनि अन्ततः बहुमतको निर्णय स्वीकार गरिएको जानकारी दिए।
थापाका अनुसार विधानको धारा ४३ मा उल्लेखित विशेष परिस्थितिमा पदावधि एक वर्षसम्म थप्न सक्ने व्यवस्था प्रयोग गरी प्रस्ताव अघि सारिएको हो। उनले आफूहरू केही नेताले विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन हुनुपर्ने तर्क उठाए पनि सो प्रस्ताव बहुमतमा नपुगेको बताए।
उनले पुसभित्र विशेष महाधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने औंल्याउँदै, यदि छिट्टै बैठक नडाकिए आफू केवल हेरेर नबस्ने चेतावनी दिए। उनकाे भनाइमा, केन्द्रीय समितिले निर्णय नगरे पनि विशेष महाधिवेशन स्वतः हुनुपर्ने अवस्था सिर्जना भएको छ।
थापाले पार्टी नेतृत्वलाई विधान पालना गर्न आग्रह गर्दै, ‘विधान उल्लङ्घन गर्न कसैलाई छुट छैन’ भन्दै आफ्नो फरक मत केवल अभिव्यक्तिमै सीमित नहुने जिकिर गरे।







