सांकेतिक तस्बिर
धादिङ, २९ वैशाख । धादिङको नीलकण्ठ नगरपालिका-६ भोर्लेमा कांग्रेसका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच झडप हुदा २० जना भन्दा बढी घाइते भएका छन् ।
झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको टाउको, दाहिने आँखा, दाँत लगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। यस्तै झडपमा अन्य २० बढी घाइते भएको प्रहरीको भनाइ छ ।
घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनावी प्रचारप्रसारमा गरिरहेको अवस्थामा झडप भएको स्थानीय बताउँछन् । चुनावी प्रचारमा लागेका दुई पार्टीका कार्यकर्ताबीच जम्काभेट हुँदा झडप भएको उनको भनाइ छ ।
नेपाली कांग्रेस भने आफ्ना कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको खबर पाएर जादा उनीहरुले पुनः आक्रमण गरेको बताएका छन् ।
झडप भैसकेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले एक अर्कालाई दोष दिइरहेका छन् । नेपाली कांग्रेसले माओवादी कार्यकर्तालाई आक्रमण गरेको कारण झगडा शुरु भएको माओवादीका एक कार्यकर्ताले बताए ।