Logo

काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ



धनुषा, १३ पुस । धनुषामा काकीको हत्या गरेको आरोपमा भतिज पक्राउ परेका छन् ।

३० वर्षीया काकी कवितादेवी साहको हत्या गरेको आरोपमा विदेह नगरपालिका-७ का २० वर्षीय दीलिपकुमार पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसअघि प्रहरीले सोमवार बेलुकी कवितादेवीको आफ्नै घरमा करेन्ट लागेर ज्यान गएको र उनकी १४ महिनाकी छोरी घाइते भएको जानकारी प्राप्त गरेको थियो । तर यस घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले दीलिपले हत्या गरेको खुलेको प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुग्दा अनुहारमा गहिरो चोट लागेको अवस्थामा कवितादेवीको शव फेला परेको थियो ।

अनुसन्धान गर्दै जाँदा दीलिपलाई शङ्कास्पद अवस्थामा फेला पारेको र उनको हातका औँला र घाटीको भागमा चिथोरिएको दाग देखिएको थियो । प्रहरी नायब उपरीक्षक क्षेत्रीका अनुसार दीलिपले रगत लागेको गन्जी र पाइन्ट झोलाभित्र लुकाएर राखेको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्