काठमाडौँ, २८ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दीअनुसार डाक्टरहरुको व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन् ।
बिहीबार राष्ट्रियसभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा धम्की आएको बताएका हुन् ।
दरबन्दीबाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्ने जोखिम रहेको भन्दै उनले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन थालेको बताए ।
“मेरो स्वकीय सचिवालयमा धेरै धम्कीहरु आउन थालेका छन् । यसलाई पार लगाएर नै छाड्ने हो । स्वास्थ्यमा छिरफार गरेर नै छाड्छौँ,” उनले भने, “थिति बसाल्छौँ । संविधानलाई कार्यान्वयन गछौंँ । आधारभूत स्वास्थ्य सेवा ग्रामीणस्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच छैन । डाक्टरहरुको पहुँच छैन । त्यो ठाउँमा हामी पुर्याएर नै छोड्छौँ ।”
दरबन्दीअनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने भन्दै उनले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेरै छाड्ने प्रतिवद्धता जनाए । स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभूत स्वास्थ्य सेवा ग्रामीणस्तरसम्म स्वास्थ्यकर्मीहरुको पहुँच नभएको स्थानमा डाक्टरहरुको पहुँच पुर्याउने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयमा ८०० डाक्टरहरु काजमा बसेको भन्दै त्यसमा दरबन्दीअनुसारको क्षेत्रमा पठाउने काम गर्ने उनले बताए । ८०० डाक्टरको दरबन्दीअनुसारको क्षेत्रमा पठाउन सकिएन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको उनको भनाइ छ ।
कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै उनले यसलाई अप्रेसन गर्नुपर्ने बताए ।