काठमाडौँ, १९ कात्तिक । यस वर्षको दशैँ झरीमै सकियो । त्यसपछिका केही दिन पनि मौसम पूर्णरूपले खुल्न सकेन । मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ । आकाश नीला देखिएका छन् । काठमाडौँ उपत्यकाबाटै विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ ।
अन्य हिमश्रृङ्खलाको दृश्य पनि कम्ती मनमोहक छैनन् । प्रदूषणका कारण हत्तपत्त उपत्यकावासीले पनि खुलेकाे आकाश र हिमाल देख्न पाउँदैनन् । उपत्यकामा प्रदूषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदूषण बढेसँगै बिस्तारै विलीन हुँदै जान्छन् ।
केही दिनयता काठमाडौँको आकाश धुम्म हुँदै गइरहेको छ । भारतमा पराल पोलेको प्रदूषण काठमाण्डौको आकाशमा अड्किँदा त्यति खुल्न सकेको छैन । तर पनि धुवाँकै बीचमा काठमाण्डौको काँठ क्षेत्र आफ्नै पनमा रमाइरहेको देख्न सकिन्छ । काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ काँठ क्षेत्रलाई ।
उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ, हरियो बोटबिरुवाको आफ्नै सुन्दरता थपिएको छ । उदाउँदो घामसँगै किसान खेतबारीमा काम गर्न मस्त देखिन्छन्, चराचुरुङ्गीको सुरिलो आवाजले त झनै मन शान्त बनाउँछ ।