Logo

काठमाडौँबाट झापाका लागी छुटेको बस दुर्घटना, दुई जनाको मृत्यु



मकवानपुर, १७ असोज । मकवानपुरको चुरियामाईमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् ।

दुर्घटनामा झापाको दमक-५ बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी-८ का कल्पना राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । एक जनाको हेटौँडा अस्पताल र एक जनाको चुरेहिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१५ चुरियामाई मन्दिर नजिक गएराति साढे १२ बजे काठमाडौँबाट झापाका लागि छुटेको ना ७ ख २०३२ नम्बरको बस अनियन्त्रित भइ खसेको प्रहरीको भनाइ छ ।

घाइते ३६ जनामध्ये दुई जनाको काठमाडौँको बीएण्डबी अस्पताल, तीन जनाको पुरानो मेडिकल कलेज चितवन र एक जनाको हेटौँडा अस्पताल र एक जनाको हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ । अरु २९ जना हेटौँडाका विभिन्न अस्पतालमा उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्