काठमाडौँ, १५ मंसिर । पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का लागि डडेलधुरा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् ।
देउवाको गाउँ डडेलधुराको गन्यापधुरा नजिकै बास बसेका ओलीले त्यहीँबाट देउवासँग मोबाइलमा गरेको कुराकानी सामाजिक सञ्जालमा राखेका छन् । कुराकानीमा देउवा बोलेको आवाज भने सुनिँदैन ।
ओलीले शुरुमा जय नेपाल भन्दै आफूले डडेलधुरा बजारभन्दा अलि तलतिर गन्यापधुरा नजिकैबाट फोन गरेको बताउँछन् । कुराकानीको सिलसिलामा ओलीले तपाईँको जिल्लामा आएको बेला यसो सम्झेको नि भन्दै काठमाडौँतिर सबै राम्रो छ नि भनेर पनि सोधेका छन् ।







