काठमाडौँ, २६ कात्तिक । तिहारमा काठमाडौँमा २४सै घण्टा देउसीभैलो खेल्न पाइने भएको छ ।
प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलो खेल्न कुनै सीमित समय निर्धारण नगरेको भन्दै काठमाडौँमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न पाइने जनाएको हो ।
काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरेका छन् । उनले कसैले समय तोकेर देउसीभैलो खेल्न अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरेका हुन् ।
‘काठमाडौँमा आफ्नो संस्कृतिअनुसार देउसीभैलो खेल्नका लागि कुनै सीमित समय तोकेका छैनौँ । प्रहरी र सुरक्षा समितिले काठमाण्डौमा २४ सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला रहेको छ । प्रहरी २४सै घण्टा सुरक्षा दिन तयार छ । तर नागरिकहरुले कुनै उश्रृङ्खल क्रियाकलाप नगरि सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक छ’ उनले भने ।
उनले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको बताउँदै प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिरहेको बताए । उनले सुरक्षा प्रबन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको दाबी समेत गरेका थिए ।






