Logo

काठमाडौँ उपत्यकाको फोहर उठाउन नसक्नु लज्जास्पद: शर्मा



काठमाडौँ, ३ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौँ उपत्यकाको फोहर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौँको फोहर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन् । यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो । उनले फोहर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलले साझा ढङ्गले सोच्नुपर्ने बताए ।

उनले भने, ‘शासनहरू बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरूबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ । कही स्वतन्त्रहरू, कहीँ दलहरू जिम्मेवारीमा पुग्छन् । तर तीन तहको सरकार हुँदा पनि काठमाडौँ मा बिहान र बेलुकाको गरेर दुई खेपको फोहर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो । काठमाडौँजस्तो सहरमा फोहर उठाउने कुरा र यसको दीर्घकालीन समाधानका बारेमा सबै राजनीतिक दलले साझा ढङ्गले सोच्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्