काठमाडौँ, ७ मङ्सिर । राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
काठमाडौँ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको हो ।
अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाडौँ उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ । निजी तथा सार्वजनिक तथा मालवाहक गाडीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी भइरहेको छ । सहरका मुख्य चोकहरुमा पनि सुरक्षा जाँच भइरहेको छ ।
बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ । सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ । सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भइसकेका छन् । दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अत्यावश्यक काममा मात्र गाडी लिएर निस्कन अनुरोध गरेको छ ।
विभिन्न समूहको भेला तथा जुलुस हुने पूर्व निर्धारित कार्यक्रमका कारण ठाउँठाउँमा मानिस र गाडीको चाप बढेर ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै ट्राफिक प्रहरीले अत्यावश्यक काम बाहेक गाडी ननिकाल्न अनुरोध गरेको हो । सडकको अवस्था बझेर यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।






