Logo

काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गर्ने ८९ गाडी होल्ड



काठमाडौँ , २२ फागुन । काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई ‘होल्ड’ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

आज बिहानैदेखि उपत्यकामा ट्राफिक प्रहरीले सुरक्षा जाँचलाई कडाइ गरिरहेको छ । होल्ड भएका गाडीलाई बेलुका ५ बजेपछि सम्बन्धित गाडी धनीको जिम्मा लगाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । फागु अर्थात् होली पर्वलाई व्यवस्थित बनाउन बिहानैदेखि सुरक्षा जाँचमा कडाइ गरिएको हो ।

उपत्यकाका झण्डै ७० ठाउँमा ट्राफिक चेकपोइन्ट राखिएको छ । मोबाइल गस्ती बढाइएको छ । होलीमा कतिपयले उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, जाँड रक्सी र लागु पदार्थ खाएर गाडी चलाउने भएकाले यसलाई रोक्न सुरक्षा जाँचलाई कडाइ गरिएको महाशाखाले जनाएको छ ।

प्रहरीले होली सभ्य तरिकाले मनाउन अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको हो । अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ ।

यस्तै, कसैले इच्छा विपरीत रङ लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन आग्रह गरिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्