काठमाडौँ, १३ मंसिर । काठमाडौँ थापाथलीको बाग्मती नदी किनारका सुकुम्बासीहरुले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
धेरै सङ्ख्यामा जम्मा भएका सुकुम्बासीहरुले आफूहरुलाई सुकुम्बासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन् । महानगरपालिकाले सोमवार सुकुम्बासी बस्ती हटाउनका लागि डोजर लिएर गएपछि यो क्षेत्र तनावग्रस्त बनेको थियो ।
महानगरपालिकाको कदमप्रति सुकुम्बासीहरुले प्रतिरोध गर्दा केही महानगर प्रहरीहरु घाइतेसमेत भएका थिए । नाराबाजीसहित महानगरपालिका पुगेका सुकुम्बासीहरुले महानगरपालिकाका मेयर बालेन्द्र शाह विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘सुकुम्बासी एक हौँ, बालेन साह होसियार, सूचना आतङ्क बन्द गर’ लगायतका नाराबाजी गरेका थिए ।
‘भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाको विरुद्ध बृहत् खबरदारी र्याली’ नाम दिइएको विरोध प्रदर्शनमा निधारमा कालोपट्टी बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए ।