Logo

काठमाडौँ महानगरपालिकामा घर खाली गराउने निवेदनका चाङ



काठमाडौँ, ६ असोज । आर्थिक मन्दीका कारण काठमाडौँ महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ महानगरमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले खाली गराउन निवेदन दिएका छन् । कतिपय व्यवसायी सम्पर्कमा भए पनि भाडा उठाउने विषयमा असहमति हुँदा पनि घर वा सटर खाली गराउन निवेदन पर्ने गरेको पाइएको छ ।

काठमाडौँ महानगरपालिकाका निर्देशक सुमित्रा लामिछानेले गत आर्थिक वर्ष २०७९र८० मा ६६ जना घरधनीले घर खाली गराउन निवेदन दिएको बताइन् । तीमध्ये ५० वटाको महानगर न्यायिक समितिबाट फैसला भइसकेको छ भने १६ वटा मुद्दाको किनारा लाग्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०र८१ को दुई महिनामा २८ जना घरधनीले निवेदन दिएका छन् । जसमा घर खाली, निर्माण रोक्का, अंश, छलफल गराई पाऊँ, रकम फिर्ता, करार कार्यान्वयनलगायत मुद्दा छन् ।

उनले कोरोनाअघि काठमाडौँ महानरमा घर खाली वा सटर खाली गराउन १०र१५ वटा मुद्दा पर्ने गरेकोमा पछिल्लो समय बढ्दै गएको बताइन् । “व्यापार व्यवसाय राम्रो हुँदा खासै समस्या हुँदैन थियो । सबै ठिकठाक चलेको थियो । घरघनी र व्यवसायबिच लफडा हुँदा वार्षिक १०र१५ वटाभन्दा बढी घर खाली गराई पाऊँ भनेर निवेदन आउँदैन थिए,” उनले भनिन्, “कोराना महामारीदेखि अहिलेसम्म निरन्तर व्यापार व्यवसाय गरेर बसेका सम्पर्कमा नहुँदा घर वा सटर खाली गराइदिन प¥यो भनेर वर्षमा एक सयभन्दा बढी निवेदन आउन थालेका छन् ।” उनले घरधनीको आफ्नै घर भए पनि खोल्न नपाउने व्यवस्था भएकाले महानगरमा निवेदन दिएर सहजीकरण गरिदिन आग्रह गर्ने गरेको बताइन् ।

आर्थिक वर्ष २०७५र७६ मा कुल २० वटा निवेदन परेकोमा आर्थिक वर्ष २०७६र७७ मा ६८ वटा निवेदन परेका थिए । यस्तै आर्थिक वर्ष २०७७र७८ मा कुल १५९ वटा निवेदन परेकोमा आर्थिक वर्ष २०७८र७९ मा १५३ वटा निवेदन परेको महानगरले जनाएको छ । व्यापार व्यवसाय फस्टाउन नसक्दा बैङ्कको ऋण र घरधनीलाई भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने गरेका हुन् । यसरी धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेको महानगरले जनाएको छ ।

घर बहाल व्यवस्था निर्देशिका २०७९ अनुसार घरधनीले घर खाली गराउन वडा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था छ । घरबहाल लिने व्यक्ति तीन महिनासम्म बहाल नदिएर बेपत्ता भएमा घरधनी प्रक्रियामा अघि बढ्न पाउँछन् ।

यसमा राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गरी बहाल बुझाउन र घर खाली गर्न घरधनीले सूचित गरेर बहालवालको ठेगानामा पत्राचार गर्नुपर्ने व्यवस्था छ । घरबहाल लिने व्यक्ति समयमै उपस्थित नभएमा वडा कार्यालयका जनप्रतिनिधि, प्रहरी, कम्तीमा तीन जना भद्रभलाद्मीको रोहबरमा बहाल रहेको घर वा कोठा खोली गर्दा फेला परेको मालसामानको मुचुल्का तयार गरी घरधनीको जिम्मा लगाएर मालसमान सुरक्षित रहने गरी घर खाली गरिनुपर्ने व्यवस्था छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्