काठमाडौँ, ५ वैशाख । सिंहदरबारसहितका कार्यालयको फोहर नउठाएको भन्दै काठमाडौँ महानगरपालिका विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ ।
वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार रिट दायर गरेका हुन् ।
फोहोर नउठाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै दायर रिटमा मंगलबारका लागि पेशी तोकिएको श्रेष्ठले जानकारी दिए ।
उनले रिटमा महानगरपालिकासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई पनि विपक्षी बनाएका छन् । महानगरपालिकाले काठमाडौँको सिंहदरबार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री निवासको फोहरमैला संकलन नगर्ने कुनै निर्णय गरेको भए उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गर्न रिटमा माग गरिएको छ । साथै स्थानीय तहहरूको समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बेवास्ता गरेका कारण तत्काल समन्वयका लागि परमादेशको पनि माग गरिएको छ ।
संघीय सरकारले आवश्यक सहयोग र समन्वय नगरेको भन्दै महानगरप्रमुख साहले सिंहदरबार, बालुवाटार, शीतल निवास लगायत विशिष्ठ कार्यालयको फोहोर नउठाउन फोहोर संकलन गर्ने कम्पनीलाई निर्देशन दिएपछि ९ दिनदेखि फोहर थुप्रिएको छ ।