काठमाडौँ, १४ वैशाख । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७ औँ ‘राष्ट्रिय चिया दिवस’ यही वैशाख १४ देखि १६ गतेसम्म मनाउने भएको छ ।
तीन दिनसम्म चिया प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम गरिने दिवसमा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी व्यवसाय, विक्रेता, उपभोक्ता, विभिन्न राष्ट्रबाट सहभागी हुने कूटनीतिज्ञलगायत विशिष्ट व्यक्तिको सहभागितामा यही वैशाख १४ गते नेपाल पर्यटन बोर्डमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवसमेत गरिने छ ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले त्रिदिवसीय कार्यक्रमअन्तर्गत काठमाडौँमा चिया प्रदर्शनीका साथै नेपाली अर्थोडक्स चियामा लागू हुने ‘ट्रेसाबिलिटी प्रणाली’ को प्रारम्भ गरिने जानकारी दिए । उनका अनुसार इलाममा चियाका बगैँचा अवलोकनका लागि भ्रमणका साथै नेपाली र विदेशी चिया व्यापारीबीच शिष्टाचार व्यापारिक बैठक गराइने छ ।
यस वर्ष ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ । विसं १९२० मा इलाममा चिया खेती सुरु भएको भए पनि झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई विसं २०३९ मा चिया क्षेत्रका रुपमा घोषणा गरी सरकारी तहबाट व्यावसायिक चिया खेतीको प्रवद्र्धन गरिएको पाइन्छ ।
चालु आवको तथ्याङ्कअनुसार नेपालमा २० हजार दुई सय १९ हेक्टरमा चिया रोपण भएको र २६ हजार तीन सय ७९ मेट्रिक टन चिया उत्पादन भएको छ । त्यसैगरी भारतलगायत तेस्रो मुलुकमा १३ हजार आठ सय ८५ मेट्रिक टन चिया निर्यात गरिएको बोर्डले जनाएको छ ।







