सिन्धुली, ७ मंसिर । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन् ।
काठमाडौँ-१ प्रदेशसभा-१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले छ हजार तीन सय मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवीन शाहीले तीन हजार पाँच सय चार मत पाए । यसैगरी, नेकपा (एमाले) का रामप्रसाद अम्गाईँले दुई हजार दुई सय ९७ मत प्राप्त गरेका थिए ।
यस्तै प्रदेशसभा-२ मा पनि कांग्रेसकै सुरजचन्द्र लामिछानेले चार हजार पाँच सय १० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद दुलालले दुई हजार सात सय ५३ मत प्राप्त गरेका छन् ।
काठमाडौँ-१ को प्रतिनिधिसभामा सोमबार राति नै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह विजयी भइसकेका छन् ।







