Logo

काठमाडौँ-१ मा राप्रपाबाट रविन्द्र मिश्र फेरि मैदानमा



काठमाडौं, ५ माघ । आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ–१ बाट रविन्द्र मिश्रलाई उम्मेदवारका रूपमा अघि सारेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार औपचारिक रूपमा उनलाई टिकट हस्तान्तरण गरेका हुन्।

मिश्रले उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित राप्रपा क्षेत्र नम्बर १ को कार्यालयमा भेला हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। त्यहाँबाट सामूहिक रूपमा मनोनयन दर्ताका लागि प्रस्थान गरिने जनाइएको छ।

यसअघि भएका दुई निर्वाचनमा मिश्र काठमाडौँ–१ बाट झिनो मतान्तरले पराजित भएका थिए। २०७४ मा विवेकशील साझा पार्टीको तर्फबाट उम्मेदवार बनेका उनले १० हजार ११८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार ९३६ मतसहित विजयी भएका थिए।

त्यस्तै, २०७९ को निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका मिश्रले ७ हजार १८ मत पाए भने सिंहले ७ हजार १४३ मत ल्याएर जित हासिल गरेका थिए।

यस पटक भने कांग्रेसभित्रको आन्तरिक विवादका कारण काठमाडौँ–१ मा उम्मेदवारको टुंगो अझै नलागेकाले प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्