Logo

कानुनअनुसार औषधि पसल सञ्चालन गर्न मेयर शाहको निर्देशन



काठमाडौँ २० मंसिर । काठमाडौँ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले दर्ता नभएका औषधि पसललाई नियमानुसार आउँदो मङ्सिर २९ गतेभित्र दर्ता हुन तथा डाक्टरको सिफारिस (प्रेस्किप्सन) अनुसार मात्रै औषधिको कारोबार गर्न बुधवार सामाजिक सञ्जालमार्फत निर्देशन दिएका छन् ।

मेयर शाहले महानगरभित्र सञ्चालनमा रहेका कतिपय औषधि पसल दर्ता नभएका, अनधिकृत व्यक्तिबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री गरेको र डाक्टरको सिफारिस (प्रेस्किप्सन) विना औषधि बिक्री भइरहेको लगायतका गुनासा आइरहेका उल्लेख गरेका छन् । महानगर आमनागरिकको स्वास्थ्यका लागि संवेदनशील रहेको भन्दै उनले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक काम गर्दै आएको बताएका छन् । सुधारका प्रयास भइरहे पनि जनस्वास्थ्यमा लापर्बाही भएको भेटिएको मेयर शाहको भनाइ छ ।

नार्कोटिक औषधिको प्रचलित ऐन कानुनअनुसार बिक्री नगरिएको र ती औषधिको आवश्यक अभिलेख नराख्ने गरिएको, औषधि पसल व्यवस्थापन नगरिएको, महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई औषधि पसल सञ्चालनमा रहेका गुनासा आएका छन् । साथै महानगरको अनुगमनमा पनि यस्ता गुनासा आएका हुँदा कानुनअनुसार काम गर्न भनिएको छ ।

मङ्सिर २९ गतेभित्र महानगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसलले सुधारात्मक काम नगरेमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) तथा महानगरपालिका जन-स्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन हुने र महानगरपालिकाको जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने मेयर शाहले चेतावनी दिएका छन् । यदि कानुन विपरीत काम भएको पाइएमा महानगरपालिकाको स्वास्थ्य विभागमा उजुरी गर्न वा महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) को नि:शुल्क टोल फ्री नम्बर १६६००१०५५११ वा ११८० मा सम्पर्क गरी जानकारी दिन पनि महानगरवासीलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्