काठमाडौँ, १९ वैशाख । गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् ।
आज गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन् ।
उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै सिंहलाई महानिरीक्षकमा बढुवा गरिएको बताए ।
सचिव पाण्डेले एआईजीहरुमा सिंहमा सबै कार्यकुशलता देखेर नै निर्णय गरेको बताए । उनले सबै एआईजीहरु २०४९ साल चैत्र १२ गतेको नियुक्ति भएकोले उनीहरुबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको स्पष्ट पारेका छन् ।