Logo

कान्ति बाल अस्पताल अब अध्ययन संस्थान



काठमाडौँ, २ वैशाख । कान्ति बाल अस्पताल ‘बाल स्वास्थ्य अध्ययन संस्थान’मा परिणत हुने भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कान्ति बाल अस्पताललाई ‘बाल स्वास्थ्य विज्ञान संस्थान’मा परिणत गर्न विस्तृत आयोजना प्रतिवेदन तयार भएको जानकारी दिए । उनका अनुसार डीपीआर निर्माणका लागि २८ करोड रुपियाँ खर्च भएको छ ।

डा. बसौलाले बाल अध्ययन संस्थान निर्माणका लागि नौ अर्ब ३० करोड रुपियाँ लागत खर्च हुने उल्लेख गरे । उनले कुल बजेटमध्ये २५ प्रतिशत बजेट आगामी वर्षका लागि माग गरिएको जानकारी दिए । आगामी आर्थिक वर्षबाट काम सुरु गर्ने गरी प्रस्ताव तयार गरिएको जानकारी दिँदै उनले उक्त बजेटमा छवटा भवन बन्ने उल्लेख गरे । उनले हाल कान्ति बाल अस्पतालको ९५ रोपनी क्षेत्रफलमा संस्थानको भवन निर्माण गरिने जानकारी दिए ।

परियोजनाका अनुसार पहिलो तीनवटा ए, बी र सी ब्लकमा अस्पताल सञ्चालन हुने छन् । तीनवटै ब्लकमा गरी कुल एक हजार बेड सञ्चालन हुने बताइएको छ । उनका अनुसार एउटा ब्लकमा शैक्षिक संस्था हुनेछ भने अर्को ब्लकमा होस्टल तथा कर्मचारी निवास रहने छन् ।

अध्ययन संस्थानसम्बन्धी डीपीआर एक वर्षको अवधिमा पूरा भएपछि बाल स्वास्थ्य अध्ययन संस्थान स्थापना हुने निश्चित भएको छ । आर्थिक वर्ष २०७७र७८ मा सरकारले नीति तथा कार्यक्रम तथा बजेटमा घोषणामार्फत कान्ति बाल अस्पताललाई संस्थानमा परिणत गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार परियोजनाको डीपीआर तयार भएर संस्थानको काम थालनी भएको हो । २०७९ फागुन ११ गतेदेखि सुरु भएको डीपीआरको काम २०७९ फागुन २५ गते सम्पन्न भएको थियो ।

सरकारलाई बुझाएको अवधारणापत्रमा नेपालको सातै प्रदेशका बालबालिकाको रिफरल अस्पतालका रूपमा विकास गर्ने, बाल स्वास्थ्यको सबै विशिष्टीकृत सेवा उपलब्ध गराउने, देशका सबै बाल अस्पताल, विभाग, एकाइका लागि आधारभूत मापदण्ड तथा उपचार निर्देशिकाहरू तयार पारेर लागू गराउने उल्लेख छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बाल स्वास्थ्य संस्थानलाई बाल स्वास्थ्यसम्बन्धी उच्च शिक्षा अध्ययन अध्यापन गरी बाल स्वास्थ्य अनुसन्धान केन्द्रका रूपमा विकास गरिने बताए । उनले कान्ति बाल अस्पताल बाल स्वास्थ्य अध्ययन संस्थान भएपछि बाल उपचारको राष्ट्रिय नीति तर्जुमा गर्न सहज हुने बताए । संस्थानले बाल स्वास्थ्य शैक्षिक केन्द्रका रूपमा सञ्चालनमा ल्याउने भन्दै पौडेलले बाल स्वास्थ्य संस्थानको अवधारणामा एमडीरएमएसलाई पूर्ण क्षमतामा सञ्चालन गरी उच्च शिक्षाको कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्