काभ्रे, २२ वैशाख । काभ्रेको रोशी गाउँपालिका-११ मा पर्ने डालाबेसीमा भएको दुर्घटनाको अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा समिति गठन भएको छ।
गृहमन्त्री बालकृष्ण खाणले भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा पाँच जनाको ज्यान जाने गरी भएको दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरी नायब उपरीक्षक हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति बनाइएको हो।
हिजो दिउँसाे सिन्धुलीबाट काठमाडौँका लागि छुटेको ना १ ज ४२१० नम्बरको जीप भारतीय मिनी बससँग ठोक्किँदा जीपमा रहेका पाँच जनाको ज्यान गएको हो।
ज्यान गुमाउनेमा सिन्धुलीको कमलामाई नगरपालिका-७ का ३० वर्षीय विक्रम श्रेष्ठ, कमलामाई-४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् ।
यस्तै दुर्घटनामा रामेछापको खाँडादेवी गाउँपालिका-८ की सम्झना भुसाल र उनकी छोरा ६ वर्षीय सङ्गीतको ज्यान गएको प्रहरीले जनाएको छ।