मोरङ, २८ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कारागारलाई सुधार र सिकाइको केन्द्रका रुपमा लिनुपर्ने बताएका छन् ।
जिल्ला कारागार मोरङद्वारा आज कारागार परिसरमा आयोजित ‘डवल डेकर’ (खाट) कैदीबन्दीलाई हस्तान्तरण गर्दै उनले यहाँबाट सिकेको ज्ञान र सीपलाई समाज रुपान्तरण र सुधारमा प्रयोग गर्न कैदीबन्दीलाई सुझाव दिए ।
मुख्यमन्त्री कार्कीले सरकारले कारगारमा दिने परम्परागत सीपलाई आधुनिकीकरण गर्न प्राविधिक अध्ययन गरिरहेको जानकारी दिँदै बन्दीद्वारा उत्पादित सामग्रीको बजारीकरण तथा पहँच विस्तार गरिने दृढता व्यक्त गरेका छन् । उनले बन्दीहरुको मानव अधिकारको संरक्षण, स्वास्थ्य सेवा, कानुनी सहायताका सम्बन्धमा प्रदेश सरकारले चाँडै अवधारणा ल्याउने तयारी गरिरहेको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले कारागारलाई होस्टलका रुपमा सम्झन आग्रह गर्दै यहाँबाट सिकेका सीपलाई साना उद्यमीका रुपमा विकास गर्नुपर्ने भन्दै आवश्यक पूँजीको व्यवस्थाका लागि सरकारले सहजीकरण गर्ने बताए ।






