Logo

कारागार विधेयक पारित



काठमाडौँ, २१ भदौ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक, २०७९ पारित गरेको छ ।

सभाको आजको बैठकले गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको विधान व्यवस्थापन समितिको प्रतिवेदनसहितको कारागार विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा सांसदहरु डा विमला राई पौड्याल र भूवनबहादुर सुनारले कारागार व्यवस्थापन सुधारका लागि संरचना निर्माण र जनशक्तिको व्यवस्थापन गर्न ध्यानाकर्षण गराएकी थिइन् ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले कारागारको भौतिक संरचना र व्यवस्थापनलाई सुधार गर्नेगरी विधेयक ल्याइएको बताए ।

उनले कारागारमा धेरै खालका कैदीबन्दी रहेकाले कारागारलाई सुधारगृह बनाउने र उनीहरुलाई उत्पादनशील बनाउँदै मानवअधिकार र समाजप्रति बढी उत्तरदायी बनाउने विधेयकले लक्ष्य लिएको बताए ।

गृहमन्त्री खाणले कारागारलाई सुधारगृहका रुपमा विकास गरी भौतिक संरचनालाई पनि सुधार गरेर बन्दीको स्वास्थ्य र सुरक्षाको राज्यले गम्भीर तरिकाको सुरक्षा गर्नुपर्छ भन्ने सकारात्मक सुझावलाई समेटेर विधेयक अघि बढाइने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्