काठमाडौँ, १६ असोज । चारवर्षे कार्यकाल पूरा गरेर अमेरिकी राजदूत र्यान्डी बेरी आइतबार स्वदेश फर्किएका छन् ।
नामिबियाका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिश भएसँगै नेपालबाट बेरी स्वदेश फर्किएका हुन् ।
नेपालबाट फर्कने क्रममा उनले नेपालबाट निकै सद्भाव र सत्कारका पाएको समेत उल्लेख गरेका छन् । उनले नेपालको भविष्यका विषयमा आफू निकै आशावादी रहेको पनि बताएका छन् ।
उनले भनेका छन्‚ ‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु । मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको माया, सद्भाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु । यो देशको भविष्यका विषयमा म अत्यन्तै आशावादी छु किनभने मैले यहाँका नागरिकहरू, भूभाग, विश्वास र संस्कृतिलाई अत्यन्तै राम्ररी बुझ्ने सुअवसर प्राप्त गरेको छु ।’
बेरी फर्किएसँगै नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्सन आउने भएका छन् । थम्सनले शुक्रबार वासिङ्टन डिसीमा पदको शपथसमेत लिइसकेका छन् ।







