काठमाडौँ, ८ पुस । कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम थियो ।
सबै संशोधनकर्ता सदस्यलाई आगामी एउटै बैठकमा बोलाएर सम्पूर्णको भावना सुन्नुपर्छ भन्नेमा मतैक्यता भएपछि बैठक स्थगित भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनले भने, “संशोधनकर्ता सदस्यको भावना बुझ्दा सबै संशोधनकर्तालाई एकैपटक बोलाएर विचार सुन्नुपर्छ भनेपछि सोहीअनुरुप गर्ने भन्ने भएको छ ।”
विगतमा थोरै संशोधन परेकामा व्यक्ति विशेषलाई र धेरै संशोधन रहेकामा समूहगतरुपमा संशोधनबारे छलफल गर्ने अभ्यास रहिआएको छ । समूहगतरुपमै छलफल गराउने विषयमा सबै दलका नेताबीच पनि बैठकमा सहमति भएको थियो । सोअनुरुप समितिको यही पुस १६ गते बस्ने बैठकमा सबै संशोधनकर्ता सदस्यलाई आमन्त्रण गर्ने निर्णय भएको छ ।
आगामी बैठकमा हुने छलफलका आधारमा आगामी बैठकमा कसरी प्रस्तुत हुँदा उपयुक्त हुन्छ भन्ने निक्र्यौल गर्ने प्रमुख सचेतक लेखकले बताए ।
उनले भने, “संसद्मा विधि निर्माणको प्रक्रियालाई हाम्रा अभ्यासले सरलीकृत गर्छ कि जटिलतातर्फ लैजान्छ भन्ने बैठकमा हुने छलफल र प्रगतिले निर्धारण गर्नेछ ।”







