कालीकोट, ३ माघ । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरी क्षेत्रमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सेरी–पान्तडी सडक खण्डमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप अचानक ब्याक भएर भीरबाट खस्दा घटनास्थलमै तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार मृतकमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र शुभकालिका–२ का सहचालक नवराज शाही रहेका छन्। उनीहरू तीनै जना सडक निर्माण कार्यमा संलग्न स्काभेटर टोलीसँग काम गरिरहेका थिए।
दुर्घटनापछि जीप करिब ५०० मिटर तल तिला नदी किनारसम्म पुगेको थियो। भीरबाट शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम मान्म लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। चालक प्रहरीको सम्पर्कमा आए पनि विस्तृत सोधपुछ बाँकी रहेको जनाइएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, जिल्ला प्रहरी प्रमुख खत्रीसहित जनपद र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।







