काठमाडौँ, २० असार । आवश्यक अध्ययन र तयारीबिना ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माण थालिएको फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) को काम रोकिएको छ । निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माण रोकिएको हो ।
निर्माणस्थलमा चक्रपथको कालोपत्रे उप्काइएको छ भने सडकबिचमा राखिएको विभाजक ‘डिभाइडर’ हटाइएको छ । यसैकारण पाँच महिनादेखि सो क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आउएको छ तर अहिले त निर्माण रोकिएको छ । गत माघ २८ गतेदेखि सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले फ्लाइओभर निर्माणक्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको बताए । उनले भने, “प्राविधिक समस्या पहिचान र निराकरण नगरी निर्माण अगाडि बढाउन सकिँदैन । भारतबाट प्राविधिक बोलाएर समस्या पहिचान र निराकरण प्रयास भइरहेको छ ।”
उनका अनुसार यसअघि निर्माण कम्पनीले तयार गरेको अध्ययन प्रतिवेदन र डिजाइनमा समस्या देखिएको हो । इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो । यस मोडेलअनुसार निर्माण कम्पनीले नै आयोजनाको ‘सर्वे, डिजाइन र कमिसनिङ’ गर्नुपर्ने हुन्छ ।
महानिर्देशक ढकालले समस्या पहिचान तथा समाधान गर्न सडक विभागको प्राविधिक टोलीले पनि काम गरिरहेको छ । अहिले फ्लाइओभरको भौतिक काम रोकिए पनि सोसम्बन्धी अन्य काम भइरहेको उनको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।





