Logo

किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क !



झापा, ३० वैशाख । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला रु झापा हल्दीबारी-८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ । केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो । परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ ।

कनकाई नगरपालिका-४, कोटीहोममा १७ दिन पहिले बेवारिसे शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाले मुचुल्का तयार गर्यो र शवलाई आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शवगृह भद्रपुरमा छाडिदियो । सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचार गरियो । आफन्तले शव राखेको चौथो दिन शवगृहबाट बुझेर ल्याई कनकाई-४ को कोटीहवन क्षेत्रमा अन्तिम संस्कार गरेका थिए । सुरजका कान्छा काका किरियामा बसे ।

आफ्नो किरिया गरिएको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि किरिया सकेको भोलिपल्ट २९ वर्षीय सुरज घर आइपुगे । मङ्गलबार किरिया सकिएको थियो र सुरज बुधबार घर पुगेका थिए । सुरजले भने, “म घरमा पुग्दा सबैजना छक्क पर्नुभयो । खुसीले कोही रुने, कोही कराउने गर्न थाले।” गाउँलेले बिनाकर्म घरमा प्रवेश गर्न दिन हुन्न भनेर कनकाईमाईमा उनको पुनः जन्मकर्म गरिएको बहिनी विनाले बताइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्