Logo

किसानलाई प्रोत्साहन गर्न सुपारी उद्योगलाई अनुदान



झापा, २९ असार । सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् ।

विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार सुपारी जोन क्षेत्रका कृषकले आम्दानी बढाउन सकिने कदम चाल्न आग्रह गरेका हुन् ।

परियोजनाले चालु आर्थिक वर्ष २०७८/७९ मा सुपारी किसानलाई उत्पादन र बजारीकरणमा सहज तुल्याउने उद्देश्यले प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा सहकारी र व्यक्तिले सञ्चालन गरेको उद्योगमा लगानी गरेको कार्यालय प्रमुख रवीन्द्र सुवेदीले बताए ।

झापामा २०७५ साउनदेखि सञ्चालनमा आएको सुपारी जोन कार्यक्रमपछि किसान उत्साहित छन् । जोनमा समावेश गरिएको सुपारी बालीमा पूर्वाधार विकास, व्यवसायीकरण एवं प्रशोधनतर्फ केन्द्रित रहेर परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सरकारले प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ लाई समेट्ने गरी ७८८ हेक्टर जमिनमा सुपारी जोन कार्यक्रम सञ्चालन गरेको सुवेदी बताउँछन् ।

चालु आवमा सुपारी जोनअन्तर्गत दुई सुपारी प्रशोधन उद्योग र दुई सुपारीको पातबाट दुनाटपरी बनाउने उद्योगलाई ५० प्रतिशत अनुदान रहने गरी रु ८० लाख अनुदान उपलब्ध गराइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्