काठमाडौँ, २९ जेठ । कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।
सोमवार २०औँ राष्ट्रिय धान दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले किसानहरुका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताएका हुन् ।
उनले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसान पनि सचेत हुनुपर्ने बताए । उनले किसानहरुलाई अनुदानको मलको खोजी गर्न आग्रह पनि गरेका थिए । उनले मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशन समेत दिएका छन् ।
उनले भने- ‘मलको वितरणमा बेथिति सहकारीहरुमा पुगेपछि हुँदो रहेछ । सहकारीमा जाँदासम्मको लागि हाम्रो एउटा सफ्टवेयर बनेको रहेछ । कृषि सामग्री कम्पनीले बनाएको । त्यहाँबाट तल वितरण कसरी हुन्छ त्यसको व्यवस्थित जानकारी प्राप्त गर्न गाह्रो रहेछ । बुझ्दै जाँदा किसानलाई दिएको अनुदानको मल गैर किसानले प्रयोग गरेको पनि पाइयो । खासगरी प्लाइउड कारखानाहरुले यसको प्रयोग गरिरहेका छन् । कृषिका निम्ति, कृषकका निम्ति भनेर ल्याइएको मल अथवा कृषकका लागि भनेर दिइएको अनुदान गैर कृषकलाई गएको कुरालाई कसरी बन्देज लगाउने?’