काठमाडौँ, ६ पुस । कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ ।
आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज मन्त्रालयमा नै बोलाएर सम्मान गरेका हुन् ।
मन्त्री श्रेष्ठले एक महिनाको आफ्नो तलब सम्मानस्वरूप ७० हजार सात सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।
सम्मान कार्यक्रमपछि बोल्दै पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण गर्ने कुरा कम चुनौतीको विषय नभएको बताए । उनले आरोही शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दुई-दुई पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको उपलक्ष्यमा आफूले सम्मानस्वरूप एक महिनाको तलब हस्तान्तरण गरेको बताए ।







